जोडिनुहोस
  • होमपेज
  • फर्जी कर्जाबारे राष्ट्र बैंकले छानबीन गरिरहेको एनआईसी एसिया बैंकको सेयर मूल्यमा ४.११ प्रतिशतको गिरावट

फर्जी कर्जाबारे राष्ट्र बैंकले छानबीन गरिरहेको एनआईसी एसिया बैंकको सेयर मूल्यमा ४.११ प्रतिशतको गिरावट

काठमाडौं- नेपाल राष्ट्र बैंकले फर्जी कर्जाका विषयमा अनुसन्धान गरिरहेको एनआईसी एसिया बैंकको सेयर मूल्य ४.११ प्रतिशतले घटेको छ।

पुँजीकोष मिलान गर्न वासेल रिपोर्टमा १ खर्ब ३४ अर्ब फर्जी कर्जा देखाएको एनआईसी एसिया बैंकको सेयरमा आज आइतबार उच्च गिरावट आएको हो।

२९३ अर्ब कुल कर्जा प्रवाह गरेकोमा यस बैंकले आवासीय कर्जामा मात्रै करिब ४७ प्रतिशत लगानी गरेको देखिन्छ। जुन राष्ट्र बैंकको निर्देशनविपरीत हो। राष्ट्र बैंकले आवासीय कर्जामा अधिकतम २५ प्रतिशतमात्रै लगानी गर्न पाउने व्यवस्था गरेको छ।

अर्कोतर्फ आवासीय कर्जाको जोखिमभार ६० प्रतिशतमात्रै रहेको छ। एनआईसी एसियाले कम जोखिमभार रहेको आवासीय कर्जामा बढी रकम देखाएर पुँजीकोष मिलान गरेको राष्ट्र बैंकको सुरुवाति अनुसन्धानबाट देखिएको राष्ट्र बैंक स्रोतको दाबी छ।

चालु आर्थिक वर्षको तीन महिनामा करिब ३२ अर्ब कर्जा प्रवाह गरेर ८० अर्ब रुपैयाँ आवासीय कर्जा एनआईसी एसिया बैंकले वासेल रिपोर्टमा देखाएपछि राष्ट्र बैंकले ुमिसम्याचु भएको भन्दै अनुसन्धान थालेको हो।

सुपरिवक्षेण विभागले एनआईसी एसिया बैंकमाथि अनुसन्धान गरिरहेको छ। आइतबार सेयर बजार परिसूचक नेप्सेमा सुरुवातबाटै एनआईसी एसिया बैंकको सेयरमा निरन्तररुपमा दबाब रहेको थियो।

पहिलो ५ मिनेटमै यस बैंकको सेयर करिब ५ प्रतिशतले घटेपनि त्यसपछि सम्हालिएको थियो। कारोबार बन्द हुँदासम्म यस बैंकको सेयर ४.११ प्रतिशतले घटेको हो। करिब १९.५० रुपैयाँले घटेर ४५५ रुपैयाँ आज कारोबार बन्द भएको छ। गत साताभर बढेको सेयर मूल्य आज एकैदिन घटेको छ।

आइतबार सेयर बजारमा एनआईसी एसिया बैंकको ८ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। गत साताभरमा यस बैंकको सेयर १८ रुपैयाँले बढेको थियो। गत साताको पहिलो दिन ४६४ रुपैयाँमा कारोबार भएको यस बैंकको सेयर कारोबारको अन्तिम दिन ४८८.५ अंकको बिन्दुसम्म पुगेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका