जोडिनुहोस
  • होमपेज
  • एनआरएनए अष्ट्रेलियाले विभिन्न माग राख्दै परराष्ट्र मन्त्री साउदलाई बुझायो ज्ञापनपत्र

एनआरएनए अष्ट्रेलियाले विभिन्न माग राख्दै परराष्ट्र मन्त्री साउदलाई बुझायो ज्ञापनपत्र

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले अष्ट्रेलिया भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदलाई विभिन्न विषयमा सहजीकरणको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । परराष्ट्रमन्त्री साउदलाई भेटी अष्ट्रेलियामा रहेका नेपालीहरूको हकहितका लागि विभिन्न विषयमा सहजीकरण गर्न ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको संघका अध्यक्ष अनिल पोखरेलले जानकारी दिए ।

ज्ञापनपत्रमा नेपालमा लगानीको सुरक्षासहितको वातावरण बनाउनका लागि समेत संघले आग्रह गरेको छ । यस्तै काउन्सुलर कार्यालय पुनर्संचालन गर्ने, विद्यार्थीहरूलाई स्कलरशीपको दायरा विस्तार गर्नुपर्ने, लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने लगायत माग राख्दै ज्ञापनपत्र बुझाइएको अध्यक्ष पोखरेलको भनाइ छ ।

क्यानबेरामा रहेको नेपाली दूतावासमा सीमित जनशक्ति रहेकाले पासपोर्ट नवीकरण लगायतका काममा ढिलाइ हुने गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । यस समस्यालाई हल गर्नका लागि अष्ट्रेलियामा छरिएर रहेका नेपालीहरूका बीच विभिन्न समयमा काउन्सिलर शिविर राख्नुपर्नेमा संघको जोड छ । संघले ज्ञापनपत्रमार्फत काउन्सिलर तथा अन्य जनसम्पर्क कार्यलाई चुस्त बनाउनका लागि जनशक्ति थप्न समेत सुझाव दिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

संघले एनआरएनएलाई नागरिकता दिने विधेयक पारित भएकोमा खुशी व्यक्त गर्दै संविधानले प्रत्याभूत गरेका व्यवस्थाहरूलाई सहज हिसाबले उपयोग गर्न सक्ने व्यवस्था गरिदिन आग्रह गरेको छ । सम्पत्तिको किनबेच गर्न तथा भिसा छुट लगायतका विषयमा सहजीकरणका लागि नीतिगत व्यवस्था गर्नुपर्नेमा समेत संघले मन्त्री साउदको ध्यानाकर्षण गराएको छ ।

एनआरएनए अष्ट्रेलिया मन्त्रिपरिषद्मार्फत यी समस्याहरूलाई समाधान गर्नका लागि मातहतका निकायहरूलाई तत्काल निर्देशन दिनुपर्ने माग गर्दछ, ज्ञापनपत्रमा उल्लेख छ । संघले नेपालमा लगानीका लागि सोही अनुसारको वातावरण तयार पार्न समेत आग्रह गरेको छ । नीतिगत सहजता, लगानीको सुरक्षाको प्रत्याभूत गराउन सरकारले चासो देखाउनुपर्नेमा ज्ञापनपत्रमा संघले जोड दिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

काठमाडौंमा अष्ट्रेलियाको भिसा कार्यालय पुनस्स्थापनाका लागि संघले लबिङ गरिरहेको उनको भनाइ छ । नेपालबाट अष्ट्रेलियामा अध्ययनका लागि आउन चाहने विद्यार्थी तथा अन्य टेम्पोररी भिसा होल्डरहरूका लागि सबै अनलाइन भएको हुँदा भारतको भिसा अफिसमा निहित हुनुपर्ने बाध्यता रहेको भन्दै काठमाडौंमा भिसा अफिस पुनर्संचालन गर्नुपर्नेमा संघले जोड दिएको छ । यसका लागि नेपालको दूतावास र परराष्ट्रमन्त्रालयले अष्ट्रेलिया सरकारसँग वार्ता तथा पहल गर्नुपर्ने अध्यक्ष पोखरेलको भनाइ छ ।

परराष्ट्रमन्त्रीले अष्ट्रेलिया भ्रमणका क्रममा नेपालले अष्ट्रेलियाको अर्थतन्त्रमा शिक्षामार्फत दिएको योगदानबारे चर्चा गर्न समेत एनआरएनए अष्ट्रेलियाले सुझाव दिएको छ । अष्ट्रेलियामा अध्ययनका लागि धेरै विद्यार्थी पठाउनेमा नेपाल तेस्रो मुलुक भएको ज्ञापनपत्रमा उल्लेख गरेका छन् । उनले नेपाल र अष्ट्रेलियाबीच सुमधुर सम्बन्ध राख्दै एकआपसमा सहकार्यका लागि आवश्यक रहेको मन्त्री साउदलाई ध्यानाकर्षण गराएका छन् ।

यस्तै अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि स्कलरशीपको अवसर बढाउनका लागि पहल गर्न समेत संघले मन्त्री साउदलाई आग्रह गराएका छन् । मन्त्री साउदसँगको भेटवार्ताका क्रममा संघले गरेका विभिन्न आर्थिक लगानीदेखि सांस्कृतिक आदानप्रदान तथा नेपालको विकास र समृद्धिमा गरेको साझेदारीबारे जानकारी गराइएको अध्यक्ष पोखरेलले जानकारी दिए । उनले नेपालको विकास र उन्नतिका लागि संघ रचनात्मक भूमिका निर्वाह गर्न इच्छुक रहेको समेत मन्त्री साउदलाई बताएका छन् । त्यसका लागि नीतिगत तथा अन्य समस्याहरू समाधानका लागि मन्त्री साउदलाई ध्यानाकर्षण गराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?