जोडिनुहोस
  • होमपेज
  • क्वार्ज क्रिस्टल गोरखकाली मन्दिर परिसरमा राखिने

क्वार्ज क्रिस्टल गोरखकाली मन्दिर परिसरमा राखिने

जिल्ला प्रहरी कार्यालय गोरखाले गएको असार १४ गते बरामद गरेको बहुमूल्य ढुङ्गा क्वार्ज क्रिस्टल गोरखकाली मन्दिर परिसरमा राखिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको शुक्रवारको मन्त्रीस्तरको निर्णयअनुसार क्वार्ज क्रिस्टल गोरखकाली मन्दिर परिसरमा राखिने भएको हो ।

जिल्ला प्रशासन कार्यालयले गएको माघ २४ गते क्वार्ज क्रिस्टलको व्यवस्थापनका विषयमा खानी तथा भूगर्भ विभागलाई पत्र लेखेको थियो । विभागले मन्त्रालयको राय मागेकोमा नेपाल सरकारको स्वामित्व रहने गरी गोरखामै संरक्षण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।

‘खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा ३ बमोजिम नेपाल सरकारको सम्पत्ति हुने गरी उक्त सम्पत्ति संरक्षण गर्न उचित स्थान र सुरक्षा प्रबन्ध गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को खण्ड प बमोजिम संरक्षण गर्न–गराउन त्यहाँ कार्यालयमार्फत गोरखा नगरपालिकालाई लेखी पठाउने भनी मिति २०८०र११र०४ मा मन्त्रीस्तरको निर्णय भएको ब्यहोरा अनुरोध छ’, उद्योग मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई लेखेको पत्रमा भनिएको छ ।

मन्त्रालयको पत्रबारे जानकारी गराउन तथा क्वार्ज क्रिस्टलको व्यवस्थापन कसरी गर्ने भन्नेबारे प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज सर्वपक्षीय छलफल पनि गर्नुभएको छ । छलफलमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, पत्रकार र सामाजिक सङ्घ–संस्थाका प्रतिनिधिले पनि गोरखकाली मन्दिर परिसरमा त्यो पत्थर राख्नुपर्ने बताएका थिए । त्यहीअनुसार गोरखकाली मन्दिर र गोरखा दरबारको बिचमा रहेको रङ्ग महलको भुइँ तलाको छिँडीमा सुरक्षा प्रबन्धसहित क्वार्ज क्रिस्टलको संरक्षण गरिने प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।

छलफलमा सहभागी धेरैजसोले क्रिस्टलको संरक्षण र सुरक्षाका सम्बन्धमा राखेको चासोबारे दाहालले भन्नुभयो, ‘क्वार्ज क्रिस्टलको विषयमा यो अन्तिम बैठक हो, अब हामी मन्त्रालयको निर्णय कार्यान्वयन गर्छौँ । पत्थरको व्यवस्थापन जिल्ला सुरक्षा समितिले गर्छ ।’

मन्त्रालयको निर्णयअनुसार क्वार्ज क्रिस्टल संरक्षण र व्यवस्थापनको जिम्मा गोरखा नगरपालिकाले पाएको छ । मेयर कृष्णबहादुर रानाले पारदर्शी सिसाभित्र सबैले देख्ने गरी पत्थर राखिने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयको टोलीले गोरखा नगरपालिका–७ सतिपिपलमा चन्द्रमान शाहीको घरमा रहेको ‘टल्कने ढुङ्गा’ लाखौँ रुपैयाँमा खरिदरबिक्रीका लागि मोलमोलाइ भइरहेको अवस्थामा बरामद गरेको थियो । खानी तथा भूगर्भ विभागका भूगर्भविद्को समूहले गएको साउन अन्तिम हप्ता दुई दिन लगाएर यो पत्थरको विभिन्न पक्ष अध्ययन गरेको थियो ।

भूगर्भविद्को टोलीले ढुङ्गाको नापतौल लिनुका साथै यसको अन्य विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको थियो । संसारभरका धातुलाई कडापनका आधारमा १० समूहमा वर्गीकरण गर्ने गरिएको बताउँदै भूगर्भविद् डाक्टर सुस्मिता भण्डारीले कडापनका आधारमा यो चट्टान सातौँ नम्बरमा रहेको जानकारी दिनुभयो ।

क्वार्ज क्रिस्टल मुख्यरूपमा गरगहना, सजावटका सामग्री बनाउन प्रयोग हुने गरेको छ । घडी, कम्प्युटर, रेडियो ट्रान्समिटर जस्ता विद्युतीय उपकरणहरूमा पनि आंशिकरूपमा यसको प्रयोग हुने गरेको भूगर्भविद् भण्डारीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका