जोडिनुहोस
  • होमपेज
  • वन्यजन्तु बस्ती पस्न थालेपछि स्थानीय त्रसित

वन्यजन्तु बस्ती पस्न थालेपछि स्थानीय त्रसित

बेदकोट– कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासका स्थानीयवासी वन्यजन्तुको त्रासमा छन् । केही सातायतादेखि बस्तीमा चितुवा र जंगली हात्तीको बथान देखा पर्न थालेपछि स्थानीय त्रसित बनेका हुन् ।

बस्ती तथा उखुबारीमा चितुवा देखिन थालेपछि गाउँमा त्रास उत्पन्न भएको बेलौरी नगरपालिका–८ पचुइँका मनोज चन्दले बताए । ‘चितुवाले तीन वटा कुकुर खाएको छ । चितुवा देखिएपछि गाउँभर त्रास छ’, उनले भने, ‘बेलुकातिर घरबाहिर निस्कनै सकिँदैन । कतिबेला के हुन्छ भनेर डराइ(डराइ बस्नु परेको छ ।’

चन्दका अनुसार हुलाकी सडकअन्तर्गत पर्ने खप्टीनालादेखि पुचइँसम्म जोड्ने सडकमा स्थानीय हिँडडुल गर्न डराउने गरेका छन् । घना उखुबारी हुनाले सो क्षेत्रमा चितुवा तथा हिंस्रक जनावर लुक्ने गरेको उनको भनाइ छ ।

केही दिनअघि खप्टिनाला क्षेत्र भएर मोटरसाइकलमा यात्रा गरिरहेका बेलडाँडी गाउँपालिका–३ खैरीघाटका जीवन चन्द आक्रमणमा परेका थिए । ‘चितुवा हो वा बाघ चिन्न सकिन । हेर्दा ठूलै थियो । एक्कासि हातमा झम्टेर सडकको पारीपट्टी झर्‍यो’, उनले भने, ‘म मोटरसाइकलबाट लडेँ । फेरि झम्टिने डरले मोटरसाइकल उठाएर भागेँ ।’

उनको हातमा पञ्जाले तिथोरेको घाउ लागेको छ । कैलालीको अत्तरियास्थित माइक्रोफाइनान्समा काम गर्ने उनी शुक्रबार र शनिबार सो बाटो भएर घर आउजाउ गर्छन् । सो घटनापछि खप्टिनालाको बाटो भएर हिँडडुल गर्न डर लागेको उनले बताए।

खप्टिनाला क्षेत्रमै गत वैशाखमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो । त्यसपछि उक्त हिंस्रक बाघलाई नियन्त्रणमा लिएर ललितपुरस्थित चिडियाखानामा राखिएको छ । सव–डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेश यादवका अनुसार पुनर्वासमा जङ्गली हात्तीको बथान बस्तीमा देखिएको छ । पुनर्वास नगरपालिका–१० पचकडिया विकासबस्तीमा छावासहित हात्तीको ठूलो बथान बस्तीमा देखा परेको हो । पुनर्वास–१० मै चितुवा पनि देखा परेको उनको भनाइ छ ।

‘हात्ती र चितुवा देखापरेपछि स्थानीयवासी त्रसित छन् । पुनर्वासमा १३-१४ को सङ्ख्याको हात्तीको बथानले खेती क्षति पुर्‍याएको छ,’ उनले भने, ‘बेलौरी र पुनर्वासमा चितुवा पनि देखिएको छ ।’ उनका अनुसार पुनर्वास-१० दोदा नदीको पुल र बेलौरीको भुडामा चितुवा देखिएको यकिन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका