जोडिनुहोस
  • होमपेज
  • कोशीमा बढ्दै आगलागीका घटनाः ५ जनाले ज्यान गुमाए, दर्जनौं घर जले

कोशीमा बढ्दै आगलागीका घटनाः ५ जनाले ज्यान गुमाए, दर्जनौं घर जले

विराटनगर । केही सातायता कोशी प्रदेशमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । दुई दिनअघि भोजपुरमा भएको आगलागीमा तीन बालबालिकाले ज्यान गुमाए । आगोमा जलेर विभिन्न जिल्लामा दर्जनौं घर नष्ट भएका छन् ।

आगलागीमा परी पाँचथर र झापामा १-१ जनाको मृत्यु भएको छ । मोरङ, तेह्रथुम, सुनसरी, सोलुखुम्बु, पाँचथर, इलाम, उदयपुर, धनकुटालगायत जिल्लामा शृङ्खलाबद्ध रुपमा आगलागीका घटना हुँदा धनमालको ठूलो क्षति भएको छ ।

पहाडी क्षेत्रमा वनमा लागेको डढेलो फैलँदै गाउँ बस्तीसम्म पुगेर स्थानीयको घर जलेका घटना छन् । यसैगरी, तराईका केही स्थानमा बिजुलीका कारण आगलागी भएको पाइएको छ ।

एकै दिन झण्डै दर्जन स्थानमा आगलागी भएको पाइएको छ । शनिबार र आइतबार दुई दिनमा कोशी प्रदेशका ४० भन्दा बढी आगलागीका घटना भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार फागुन महिना लागेयता कोशी प्रदेशका विभिन्न जिल्लामा साना ठूला गरी २ सय ५० भन्दा बढी आगलागीका घटना भएका छन् । ती घटनामा दुई सयभन्दा बढी घर जलेको जनाइएको छ । ठूलो परिमाणमा धनमाल नष्ट भएको छ ।

प्रहरीले अहिले आगलागीका घटना बढिरहेको अवस्थामा सतर्कता अपनाउन आग्रह गरेको छ । आगलागी भइहाले नियन्त्रण र उद्धारका काममा परिचालन गर्ने टोलीहरु तयार रहेको पनि प्रहरीले जनाएको छ ।

पीडित परिवारलाई राहत

यसैबीच, मोरङको रंगेली नगरपालिका-३ बाबुसाहेब टोलका अग्निपीडितलाई राहत प्रदान गरिएको छ । औषधि व्यवसायीहरुले पीडित परिवारलाई आइतबार खाद्यान्न लगायत राहत सामग्री प्रदान गरेका हुन् ।

उक्त स्थानमा बिजुली सर्ट भइ आइतबार भएको आगलागीमा २० घर जलेका थिए । २८ परिवारका १ सय १८ जना बिस्थापित भएका छन् । उनीहरु त्रिपाल टाँगेर बसेका छन् ।

अग्निपीडितको जीवनयापन कष्टकर भएको जानकारी पाएपछि विराटनगरका औषधि व्यवसायी राहत लिएर पुगेका हुन् । खाद्यान्य, झुल र स्कुल पढ्ने विद्यार्थीहरुको लागि स्टेशनरी सामग्री वितरण गरेको नेपाल औषधि व्यवसायी संघका अध्यक्ष देशबन्धु ढकालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका