जोडिनुहोस
  • होमपेज
  • सन् २०३० सम्ममा भारतले ३० प्रतिशत विद्युतीय गाडी बजारमा ल्याउने

सन् २०३० सम्ममा भारतले ३० प्रतिशत विद्युतीय गाडी बजारमा ल्याउने

भारतले अबको ६ वर्ष अर्थात् सन् २०३० सम्ममा गाडी बिक्रीको ३० प्रतिशत हिस्सा विद्युतीय गाडीको लक्ष्य राखेको विश्व अर्थतन्त्रबारेको रिपोर्ट प्रकाशित गर्ने भारतीय संस्था ‘केयरएज रेटिङ्स’ ले जनाएको छ । पछिल्ला वर्ष वैकल्पिक इन्धन प्रयोगतिर ध्यान जान थालेको अवस्थामा भारतले विद्युतीय गाडीको मागलाई सम्बोधन गर्ने नीति लिएको संस्थाले गरेको अध्ययनले देखाएको हो ।

अटोमोबाइल बजारमा पेट्रोल र डिजेल इन्धनबाट सञ्चालित गाडीको परम्परागत प्रभुत्वलाई चुनौती दिँदै विद्युतीय गाडीको माग र बजार बढ्दो छ । समग्रमा गाडीको बिक्रीमध्ये पेट्रोलबाट चल्नेको बिक्रीमा आउँदा दिनमा कमी हुने अनुमान गरिएको छ ।

विगतमा पेट्रोलबाट चल्ने गाडी बिक्रीको हिस्सा सन् २०२० मा ८६ प्रतिशत रहेकोमा सन् २०२३ मा १० प्रतिशत कमी अर्थात् ७६ प्रतिशतमा घटेको देखाएको छ । डिजेलबाट चल्नेको सन् २०२० मा १२ प्रतिशत रहेकोमा सन् २०२३ मा ११ प्रतिशतमा सीमित भएको छ ।

वैकल्पिक इन्धनबाट चल्ने गाडीको बिक्री सन् २०२० को तुलनामा गएको वर्ष चार सय प्रतिशतभन्दा धेरैले बढेको तथ्याङ्कबाट देखिन्छ । भारतले वैकल्पिक इन्धन पूर्वाधारको विकासलाई प्रोत्साहन गर्न विभिन्न योजना बनाएर कार्यान्वयनका लागि पनि काम थालेको छ ।

यी प्रयासबाट नै सन् २०३० सम्ममा विद्युतीय गाडीमा पनि उत्कृष्ट प्रभाव देखिने अपेक्षा गरिएको अध्ययनलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ । भारतले वैकल्पिक इन्धनतर्फ अगाडि बढ्ने उदेश्यले परियोजनाका लागि एक खर्ब ५० अर्ब भारतीय रूपैयाँ विनियोजन नै गरेको छ । केयरएज रेटिङ्सका एसोसिएट निर्देशक आरती रोयले विद्युतीय गाडीको बजार प्रवद्र्धनको उद्देश्य पूरा हुन सरकारी नीति, प्राविधिक विकास र उपभोक्ताको प्राथमिकता जस्ता विभिन्न विषयमा निर्भर हुने बताउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका