जोडिनुहोस
  • होमपेज
  • दक्षिण अफ्रिकाका चर्चित र्‌यापर एकेए र उनका साथीको गोली हानी हत्या

दक्षिण अफ्रिकाका चर्चित र्‌यापर एकेए र उनका साथीको गोली हानी हत्या

दक्षिण अफ्रिकाका चर्चित र्‌याप गायक किर्नान जारेड फोर्ब्सको डरबनस्थित एक रेस्टुरेन्ट नजिकै गोली हानी हत्या गरिएको छ । एकेए भनेर चिनिने यी र्‌यापर ३५ वर्षका मात्रै थिए ।

उनीसँगै उनका नजिकका साथी तथा व्यावसायिक सेफ तथा व्यापारी टेबेलो ‘टिब्ज’ मोटसोनको पनि हत्या भएको छ । उनीहरू एक नाइट क्लबको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा गोली हानिएको अनुमान गरिएको छ ।

यद्यपि हत्याको कारण भने खुल्न सकेको छैन । हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता कर्नेल रोबर्ट न्त्शिउन्डाले बीबीसीसँगको कुराकानीमा र्‌यापर एकेए र उनका साथी आफ्नो कारमा जाँदै गर्दा दुई हतियारधारीले उनीहरूलाई नजिकैबाट गोली हानेको जानकारी दिए । यसपछि आक्रमणकारीहरू पैदल नै घटनास्थलबाट फरार भए ।

प्रहरीका अनुसार यो हत्या ‘हिट एन्ड रन’ पनि हुनसक्ने सम्भावना रहेको बताएका छन् । दैनिक हुने हत्याको हिसाबले दक्षिण अफ्रिका विश्वका अग्रणी देशहरूमा पर्छ । गोली काण्डका घटनाहरू त्यहाँ असामान्य होइनन् ।

‘गन फ्री साउथ अफ्रिका’ नामक संस्थाले यस देशमा हरेक दिन ३० जनाको गोली हानी हत्या हुने गरेको अनुमान गरेको छ ।

को थिए एकेए ?

एकेएले आफ्नो सङ्गीत करियर र्‍याप समूह ‘एन्टिटी’ को सदस्यको रूपमा सुरु गरेका थिए । पछि उनी एक्लै गाउन थाले ।

उनले आफ्नो गीतका लागि दक्षिण अफ्रिकामा धेरै पुरस्कार जितेका थिए । अर्कोतर्फ, सामाजिक सञ्जालमा मानिसहरू एकेएका साथी मोटसोनलाई ‘एक सच्चा व्यक्ति’ बताइरहेका छन् ।

एकेएले अमेरिकामा ब्ल्याक इन्टरटेनमेन्ट टेलिभिजन (बिइटी) अवार्ड र एमटिभी युरोप म्युजिक अवार्डका लागि थुप्रै नोमिनेसन पनि पाए ।

हत्या हुनुभन्दा केही घण्टाअघि उनले सामाजिक सञ्जालमा आफ्नो आगामी एल्बम ‘मास कन्ट्री’ बारे पोस्ट गरेका थिए । एल्बम यसै महिनाको अन्त्यमा रिलिज हुने तयारीमा छ ।

एकेएका आमाबाबुले आफ्नो सोसल मिडिया अकाउन्टमा हालिएको एक बयानमा आफ्नो छोरालाई श्रद्धाञ्जली दिएका छन् । उनीहरुले भने, ‘किएरनन जेरिड फोर्ब्स हाम्रा लागि एक छोरा, भाइ, नाति, भतिजा र साथी थिए । उनी आफ्नी प्यारी छोरी काहिराको पिताको रूपमा हाम्रो प्रिय थिए ।’

उनीहरुले भने, ‘धेरैले उनलाई एकेए, सुपा मेगा, भोवा र अन्य थुप्रै नामबाट बोलाउँथे । मानिसहरूले हाम्रो छोरालाई माया गरे र त्यसको साटोमा उनले पनि प्रेम दिए ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका