जोडिनुहोस
  • होमपेज
  • मुन्सेको शतकमा स्कटल्याण्ड लिग टूको विजेता

मुन्सेको शतकमा स्कटल्याण्ड लिग टूको विजेता

काठमाडौं । ओपनर जर्ज मुन्सेको सानदार शतकमा आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा बुधबार मुन्सेको शतकसँगै स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको हो ।

सिरिजमा नामिबियाको यो लगातार दोस्रो हार हो । मंगलबार नामिबिया नेपालसँग पराजित भएको थियो ।

नामिबियाले दिएको १ सय ५४ रनको लक्ष्य स्कटल्याण्डले २२.१ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।

स्कटल्याण्डको जितमा मुन्सेले ६१ बलमा १२ चौका र ७ छक्काको सहयोगमा अविजित १ सय ३ रनको शतकीय ईनिङ खेले ।

यस्तै केली कोट्जरले ७२ बलमा ७ चौका सहयोगमा अविजित ४६ रन बनाए नामिबियाका लागि कुनै खेलाडीले विकेट लिन सकेनन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ३९.२ ओभरमा अलआउट भएर १ सय ५३ रन बनाएको थियो ।

नामिबियाका लागि लोह्यान्डरी लोरेन्स ५४ रनमा आउट हुँदा बेर्नाड स्कोल्टेजले ३० रन बनाए । जान ग्रिनले २५ रन बनाउँदा प्रिन्कि फ्रान्सले ११ रन बनाए ।

कप्तान ग्रेहार्ड इरास्मस र जान निकोल शुन्य रनमा आउट भए । नेपालविरुद्ध मंगलबार भएको खेलमा शतक प्रहार गरेका माईकल भान लिङ्गेन १४ बलमा ४ रन मात्र बनाए ।

उनी सफियान सरिफको बलमा बोल्ड आउट भए । मिचेल लेक्सले ४ तथा सफियान सरिफ र मार्क वाटले समान ३/३ विकेट लिए ।

यस जितसँगै स्कटल्याण्डले सात टोली सहभागी विश्वकप लिग टू को उपाधि जितेको छ। स्कटल्याण्डले ३३ खेलमा ४८ अंक जोडेर शीर्ष स्थान हासिल गरेको हो ।

अन्य टोलीले बाकीँ सबै खेल जितेपनि स्कटल्याण्ड भन्दा अगाडी पुग्नेछैन ।नामिबिया भने ३२ खेलमा ३७ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

स्कटल्याण्डले आगामी जुनमा जिम्बाबेमा हुने आईसीसी एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाईसकेको छ ।

मंगलबारबाट सुरु त्रिकोणत्मक सिरिज फागुन ९ गतेसम्म संचालन हुनेछ । यस सिरिजमा सहभागी तीनवटै टिमले एक अर्काविरुद्ध समान २/२ खेल खेल्ने छन् ।

सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ ।यस्तै नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका