जोडिनुहोस
  • होमपेज
  • अर्का डीआईजी श्याम ज्ञवालीको पनि नागरिकता र शैक्षिक प्रमाणपत्र विवादित

अर्का डीआईजी श्याम ज्ञवालीको पनि नागरिकता र शैक्षिक प्रमाणपत्र विवादित

काठमाडौं – नेपाल प्रहरीका अर्का डीआईजी श्यामलाल ज्ञवालीको पनि नागरिकता र शैक्षिक प्रमाणपत्र विवादित भेटिएको छ । स्रोतका अनुसार उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक जन्ममिति भेटिएको हो ।

प्राप्त विवरणका आधारमा प्रहरी सेवामा आवेदन दिँदा उनी २५ वर्ष पूरा भइसकेको देखिन्छ । जिल्ला प्रशासन कार्यालय प्युठानबाट उनले २०४१ साल चैत २१ गते नागरिकता लिएको देखिएको छ । जहाँ नागरिकतामा १७ वर्ष उमेर लेखिएको छ । यसले उनको जन्म २०२४ सालमा भएको देखिन्छ । २०५० सालमा उनले प्रहरी निरीक्षक (इन्सपेक्टर)का लागि आवेदन दिएका थिए ।

२०५० सालमा उनी २६ वर्ष लागिसकेकाले उनी भर्नाकै लागि अयोग्य भएको उनकै विवरणबाट पुष्टि हुन्छ । २०५० साल मंसिर १३ गते प्रहरी निरीक्षकका लागि गोरखापत्रमा सूचना प्रकाशित भएको थियो । सो सूचनामा छनोट हुने सालको वैशाख १ गते २० वर्ष उमेर पुगेको २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

सूचनाअनुसार ०५० साल वैशाख १ गते २५ वर्ष पूरा भइसकेकाले प्रहरी निरीक्षकका लागि आवेदन नै दिन पाउँदैनन् । उनको नागरिकतामा २०२४ सालको जन्ममिति देखिन्छ भने शैक्षिक कागजातमा २०२५ साल भदौं २६ गते जन्म मिति उल्लेख छ ।

प्रहरी अभिलेखमा ज्ञवालीको जन्ममिति २०२५ साल भदौं २६ गते लेखिएको छ । तर उनको नागरिकता २०२४ साल चैत २१ मा लिएको देखिन्छ । उनको नागरिकता र शैक्षिक प्रमाणपत्रको जन्ममिति फरक–फरक छ । यो दुईबीचमा ५ महिनाको फरक देखिन्छ । प्रहरी सेवाका तत्कालीन जानकारहरुका अनुसार सो समयमा बढीजसो नागरिकतामा साल मात्रै उल्लेख हुने व्यवस्था थियो ।

डीआईजी ज्ञवालीको फरक–फरक विवरण आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परिसकेको छ । आयोगले प्रहरी प्रधान कार्यालयसँग उनको विवरण माग गरेको छ डीआईजी ज्ञवालीले आफ्ना सबै विवरण ठिक भएको दाबी गर्दै आएका छन् ।

उमेर विवाद भएपछि गत साता नेपाल प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा दिए । उनको राजीनामा स्वीकृतसमेत भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?