जोडिनुहोस
  • होमपेज
  • पानी अभावले रोपाइँ गर्न ढिलाइ

पानी अभावले रोपाइँ गर्न ढिलाइ

कैलाली । कैलालीको भजनी नगरपालिका–२ का रामप्रसाद चौधरी गत वर्ष अहिलेको समयमा खेतमा निकै व्यस्त थिए । आकाशे पानीको भरमा खेती गर्दै आएका उनी यस वर्ष भने फुर्सदमा छन् । समयमा वर्षा नभएपछि धान रोप्न नपाएका चौधरीको दैनिकी पानी पर्छ की भन्ने आशमै बित्ने गरेको छ ।

‘खेती लगाउने समय ढल्किन लागेको छ । ब्याड राखेको पनि एक डेढ महिना भइसकेको छ’, चौधरी भन्छन्, ‘बोरिङ आफूसँग छैन । पालो लगाएर ब्याडमा पानी लगाउनै ठिक्क हुन्छ । आकाशबाट पानी पर्ने सुरसार अझै छैन । धान रोप्न ढिलाइ भएको छ ।’ यस वर्ष मनसुन सक्रिय हुन ढिलाइ भएका कारण चौधरी जस्तै अन्य किसानले पनि समयमा धान रोप्न पाएका छैनन् ।

भजनीको अधिकांश खेतीयोग्य जमिनमा वर्षाको पानीको भरमा खेती हुन्छ । केही किसानले बोरिङ गरी जमिनमुनिको पानी तानेर सिँचाइ गर्दै आएका छन् । भजनीकै हरिराम चौधरीले १५ बिघा क्षेत्रफलमा धान रोप्ने तयारी गरेका छन् । सबै काम सम्पन्न गरेर रोपाइँको तयारीमा बसेका उनी पानीको पर्खाइमा छन् ।

‘अहिलेसम्म आधाभन्दा बढी रोपाइँ गरिसक्नुपर्ने हो । मौसमका कारण खेतमा जान सकिएको छैन’, चौधरीले भने, ‘यस वर्ष समस्या होला जस्तो छ । अर्को खेती लगाउन समय लाग्ने देखिएको छ ।’ गाउँघरतिर किसानले आलोपालो खेतीको काम गर्दै आएका छन् । त्यसरी काम गर्दा ज्याला बच्ने र समूहमा काम हुने भएकाले त्यो प्रायः परम्पराजस्तै छ । यस वर्ष भने सबैको कामसँगै पर्ने भएपछि त्यो आलोपालोमा काम हुने अवस्था नरहेको लक्ष्मण थारु बताउँछन् ।

‘सबैले खेत जोत्ने काम गरिसकेका छन् । कतिपयको ब्याड पनि रोप्ने समयभन्दा ढल्किसकेको छ ।’ लक्ष्मण भन्छन्, ‘गाउँमा हामी सबै किसान छौँ । आफ्नो काम छोडेर अरुको काम गर्न जाने कोही होइन । त्यसकारण पनि धान रोपाइँमा ढिलाइ हुने देखिएको छ ।’ भजनी नगरपालिका कृषि क्षेत्रका लागि कैलाली जिल्लाकै महत्वपूर्ण क्षेत्र हो । कृषिका लागि महत्वपूर्ण क्षेत्र भए पनि सिँचाइ सुविधा भने राम्रो छैन ।

चारैतिरबाट नदीले घेरिएको क्षेत्रमा एउटा मात्रै सिँचाइ आयोजना लागू भएको छ । जसले एक तिहाइ क्षेत्रलाई समेट्न सकेको छैन । किसानको सिँचाइको माध्यम त्यहीँ बोरिङ मोटर नै हो । बर्षातको समयमा बाढी र डुबानले विकराल रुप लिने गरेको छ । कैयौँ वर्ष किसानले लगाएको धान बाली बाढीमै विलय भएको इतिहास साक्षी रहेको स्थानीयको धारणा छ ।

‘सिँचाइको समस्या छ । बर्षातको समयमा सबै क्षेत्र जलमग्न हुने भजनी अन्य समयमा पानी पाउँदैन’, स्थानीय कलशराम डङ्गौरा भन्छन्, ‘सिँचाइ सुविधाको लागि सरकारले बोरिङ मोटर अनुदानमा किसानलाई वितरण त गरेको छ तर बिजुलीको महसुलमा भने छुट गरेको छैन ।’ वर्षे धानको तयारी गरेका किसानलाई वर्षा नहुँदा समस्या भए पनि चैते धान रोपेका किसानलाई भने अहिलेको मौसमले फाइदा पुर्‍याएको छ ।

किसानले चैते धान भित्र्याउने समय भएकाले मौसम सफा हुँदा फाइदा भएको दिनेश बोहरा बताउँछन् ।‘“पानी परेको भए धान सुकाउन समस्या हुन्थ्यो । भित्र्याउन कठिन हुने थियो । यस वर्ष मौसमले साथ दिएको छ’, उनले भने, ‘मौसम राम्रो भएका कारण विगतमा भन्दा यस वर्ष चैते धानको उत्पादन पनि राम्रो हुने देखिएको छ ।’

भजनी क्षेत्रमा मात्रै अधिकांश किसानले चैते धानको खेती गर्दै आएका छन् । बर्षातको समयमा बाढी र डुबानको बढी जोखिम भएको क्षेत्रमा चैते धानको खेती फस्टाएको छ । फागुनको अन्तिमतिर रोपेको चैते धान यतिबेला किसानलाई भित्र्याउन भ्याइनभ्याइ छ । बाढी र डुबानको क्षति कम भएको खण्डमा किसानले दुई पटक त्यहीँ एकै पटक रोपेको धान भित्र्याउने गरेका छन् । बाढीले क्षति नपुर्‍याए भदौमा पुनः त्यहीँ धान फल्ने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका