जोडिनुहोस
  • होमपेज
  • कर्मचारी अभावले सेवा प्रवाहमा समस्या

कर्मचारी अभावले सेवा प्रवाहमा समस्या

अछाम– जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतको अभावमा सेवा प्रवाहमा समस्या देखिएको हो । उक्त कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी लामोसमयदेखि नभएकामा तीन महिनादेखि प्रशासकीय अधिकृतसमेत अभाव भएको हो ।

दुईवटा प्रशासकीय अधिकृतको दरबन्दी भएको कार्यालय जेठ १ गते प्रशासकीय अधिकृत मीनराज आचार्यको सरुवा भएपछि काजआ आएका दैलेख जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भूपेन्द्र थापा गत जेठ २८ देखि असार ८ गतेसम्म काम गरेर फर्किएका थिए । त्यसपछि बाजुरा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार तिमिल्सेनाले गत असार १० देखि साउन १ गतेसम्म काजमा आएर काम गरी बाजुरा फर्केपछि डोटी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले साउन ३ गतेदेखि काजमा आएर काम गरिरहेका छन्।

कार्यालयमा २२ कर्मचारीको दरबन्दीमध्ये नौ कर्मचारी रिक्त छन् । दरबन्दीअनुसार एक सहायक प्रमुख जिल्ला अधिकारी र दुई प्रशासकीय अधिकृत हुनुपर्ने भए पनि कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतविहीन हुन पुगेका छन् । त्यस्तै पाँच नायबसुब्बाको दरबन्दीमा एक जनामात्रै छन् भने तीन खरिदारको दरबन्दीमा दुई र दरबन्दीका दुई कम्प्युटर अपरेटरले करारमा काम गरिरहेका छन् ।

यसअघि दुई प्रशासकीय अधिकृतमध्ये एक दिपेश रिजालको गत २०७९ माघ ४ गते र मीनराज आचार्यको यही जेठ १ गते सरुवा भएको थियो । असार २४ गते गृह मन्त्रालयले प्रशासकीय अधिकृत रामप्रसाद शर्मा र यादव भण्डारीलाई उक्त कार्यालयमा सरुवा गरेकामा दुवैजना सरुवा भएको महिनौँ पुग्दासमेत हाजिर हुन आएका छैनन् । कर्मचारी अभावले दैनिक कामकाजमा समस्या हुँदै आएको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

यस जिल्लामा प्रमुख जिल्ला अधिकारी सहसचिवको दरबन्दी हो । हालका प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपानेको तीन महिना नपुग्दै गृह मन्त्रालय सरुवा भएपछि मोरङका सहायक प्रजिअ शरदकुमार पोखरेलले गत साउन ३१ गतेदेखि प्रजिअको जिम्मेवारी सम्हालिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका