जोडिनुहोस
  • होमपेज
  • गैँडा हत्या प्रकरणमा अनुसन्धान पटके अभियुक्ततिर

गैँडा हत्या प्रकरणमा अनुसन्धान पटके अभियुक्ततिर

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारिने र खाग, खुर पनि गायब हुने घटना भएपछि त्यसको अनुसन्धान विभिन्न पक्षबाट भइरहेको छ । पेसेवर सिकारी नै त्यसमा संलग्न भएको प्रारम्भिक निष्कर्षसहित अनुसन्धानको पाटो यसअघि यस्ता घटनामा संलग्न भई पक्राउ परेका, दोषी प्रमाणित भई थुनामा रहेका र कैद भुक्तान गरी बाहिरिएका व्यक्तितिर सोझिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार २०५८ यता गैँडा मारेको अभियोग लागेका ८८ जना त फरार नै छन् । २०६० यता १३३ जनाले कैद भुक्तान गरेका छन् । तर यसरी फरार रहेका वा जेल भुक्तान गरेका कति जना पुनः यो पेसामा फर्किए भन्ने तथ्याङ्क निकुञ्जसँग छैन ।

तथापि गैँडा मारेको पटके अपराधमा जेलमा परेका व्यक्ति अहिले पनि छन् । कालिका नगरपालिका–२, पदमपुरका राजन प्रजा गैँडा मारेको अभियोगमा नै चितवन कारागारमा पुर्पक्षका लागि थुनामा छन् । गैँडा मारेकै अभियोगमा २०६० देखि २०७२ सम्म १२ वर्ष पाँच महिना जेल बसेर छुटेका प्रजा पुनः २०७८ फागुन २० देखि दोस्रो पटक थुनामा परेका हुन् ।

गैँडा मारेकै अभियोगमा प्रजाविरुद्ध अहिले चितवन जिल्ला अदालतमा तीन वटा मुद्दा विचाराधीन छन् । कारागारका प्रमुख कमल आचार्य अहिले चितवन कारागारमा राजन जस्तै गैँडा मारेको पटके अभियोगमा चार जना थुनामा रहेका जानकारी दिनु हुन्छ ।

उहाँका अनुसार चितवन कारागारमा गैँडा मारेकै अभियोगमा ५४ जना बन्दी तथा थुनुवा छन् । तीमध्ये चार जना पटके अभियोग लागेका हुन् ।

राजन प्रजाको भने आफूमाथि लागेको दोस्रो पटकको अभियोग गलत भएको दाबी छ । प्रजाको भनाइ छ, “पछिल्लो पटक ९२०७८ मा माडीमा गैँडा मारेको घटना० मा म संलग्न छैन ।” पहिलो पटक भने जानी नजानी गैँडा मार्ने काममा सहभागी भएको स्वीकार गर्दै गरिबी र अभावले नै मानिसहरू गैँडा मार्ने काममा संलग्न हुने तर्क प्रजाको छ ।

यी जानकारीमा आएका र मुद्दा दर्ता भएर फैसला भएका घटना हुन् । तर गैँडा मारिएका घटना जानकारीमा नआएका हुन सक्ने सम्भावना पनि पछिल्लो पटक गैँडा मारिएको घटनाले बढाएको छ ।

पछिल्लो पटक गत बिहीबार निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली क्षेत्रको वडेला खोला नजिकै चोरी सिकारीले दुई पोथी गैँडा मारेर खाग लगेको अवस्थामा भेटिएका थिए । छ वर्षको गैँडा मरेको तेस्रो दिन र १८ वर्षे गैँडा मारेको १० औँ दिन भेटिएकाले जानकारीमा नै नआएका घटना अरू हुन सक्ने सम्भावना बढेको छ । सिकारीले खनेको खाडलको माटो पनि प्रमाणका रूपमा नराखी अन्तै फालेकाले यसलाई थप बल दिएको छ ।

यी गैँडा मारिएका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयले गठन गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा रहेको पाँच सदस्यीय छानबिन समितिले यी विविध पक्षबाट अनुसन्धान गरिरहेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका