जोडिनुहोस
  • होमपेज
  • भारतको गणतन्त्र दिवसको प्रमुख अतिथिका लागि फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई निमन्त्रणा

भारतको गणतन्त्र दिवसको प्रमुख अतिथिका लागि फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई निमन्त्रणा

भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा फ्रान्सका राष्ट्रपतिलाई निमन्त्रणा गरिएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँलाई सन् २०२४ को जनवरी २६ मा भारतको गणतन्त्र दिवस समारोहमा सहभागी हुन निमन्त्रणा गरिएको स्रोतहरूले जनाएका छन् ।

नयाँदिल्लीमा आयोजना हुने गणतन्त्र दिवस समारोहमा फ्रान्सको नेतृत्वको प्रमुख आतिथ्यताको यो छैठौं अवसर हुनेछ ।

म्याक्रोँभन्दा पहिले फ्रान्सका पूर्वप्रधानमन्त्री ज्याक शिराक सन् १९७६ र १९९८ मा भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथि हुनुभएको थियो भने सन् १९८०, २००८ र २०१६ मा पूर्वराष्ट्रपति भ्यालेरी गिस्कार्ड डी’एस्टाइङ, निकोलस सार्कोजी र फ्रान्कोइस ओलान्द मुख्य अतिथि हुनुभएको थियो । गत बर्ष उक्त समारोहको प्रमुख आतिथ्यता दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले गर्नुभएको थियो ।

भारत र फ्रान्सले रक्षा, अन्तरिक्ष, असैनिक आणविक, व्यापार, लगानी, शिक्षा, संस्कृति र जनता–जनताबीचको सम्बन्धलगायत विभिन्न क्षेत्रमा घनिष्ट सहयोग गरिरहेका छन् ।

सन् १९५० मा भारतले ब्रिटिश साम्राज्यसँगको सम्बन्ध भङ्ग गरेको थियो । उक्त दिन भारतमा संविधान लागु भएको थियो र त्यसै दिनदेखि भारत एउटा सार्वभौम गणतन्त्र बनेको थियो । देशको सैन्य शक्ति, प्राविधिक विकास र सांस्कृतिक विविधता झल्काउने दिनका रूपमा भारतले गणतन्त्र दिवस मनाउँछ ।

गणतन्त्र भारतका पहिला राष्ट्रपति राजेन्द्र प्रसादले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको थियो । यद्यपि भारतले धेरै बहसपछि कमनवेल्थ अफ नेशन्समा सहभागी हुने निर्णय गरेको थियो ।

बेलायती साम्राज्यवादी शक्तिद्वारा प्रदर्शन गरिएका भव्य स्वागत कार्यक्रम र उत्सवहरूबाट प्रेरणा लिएर परेड सुरु गरिएको हो । बेलायतीहरूले गर्ने त्यस्ता प्रदर्शनबारे भारतीयहरू पहिले नै परिचित थिए ।
भारतको क्षमताबारे बाँकी विश्वलाई सन्देश पठाउने लक्ष्यसमेत परेडले राखेको छ ।

सन् १९५० मा इन्डोनेशियाका राष्ट्रपति सुकार्नोबाट सुरु गरेर भारतले परेडमा सधैँ एक विदेशी विशिष्ट व्यक्तिलाई प्रमुख अतिथिको रूपमा आमन्त्रित गर्न थालेको थियो ।
प्रमुख अतिथिहरूको सूचीले देशको वर्षौंदेखिको कूटनीतिक सम्बन्धलाई पनि झल्काउँछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका