जोडिनुहोस
  • होमपेज
  • जापान भूकम्प गएको ५ दिनपछि ९ दशक पार गरेकी वृद्धाको उद्धार

जापान भूकम्प गएको ५ दिनपछि ९ दशक पार गरेकी वृद्धाको उद्धार

जापानमा भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी वृद्धालाई हिजो शनिवार उद्धार गरिएको छ ।विनाशकारी भूकम्प गएको तीन दिनपछि जीवित व्यक्तिहरू भेट्टाउने आशा प्रायः धुमिल हुन्छ । तर सुजु सहरमा भत्किएको घरको भग्नावशेषमुनि पाँच दिन बिताएकी ती वृद्धालाई शनिवार उद्धार गरिएको छ । उहाँलाई उपचारका लागि अस्पताल लगिएको छ र अस्पतालमा लानुअघि उहाँले प्रश्नको स्पष्ट जवाफ दिइरहेको सरकारी प्रसारक एनएचकेले जनाएको छ । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको घटनास्थलको फुटेजमा उद्धारकर्ताहरूले ती महिलालाई उद्धार प्रयास जारी रहेको भन्दै नआत्तिइकन ‘त्यहीँ पर्खनुहोस्’ भनेको सुन्न सकिन्छ ।टोकियो प्रहरीका एक प्रवक्ताले एएफपीलाई टोकियो र फुकुओकाका अधिकारीहरूले एक वृद्धाको उद्धार गरेको पुष्टि गरे पनि थप विवरण दिन चाहेनन् । जापानमा जनवरी १ मा गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प र त्यसपछिका परकम्पनमा परि कम्तीमा एक सय २६ जनाको ज्यान गएको र दुई सय २२ जना हराइरहेका स्थानीय अधिकारीले जानकारी दिएका छन् । भूकम्पको झट्का र त्यसपछिका पराकम्पनले भवनहरू भत्किएका थिए । ठूलो आगलागी भएको थियो र एक मिटरभन्दा अग्ला सुनामी छालहरू उत्पन्न भएका थिए । सरकारले उद्धार प्रयास जारी राखिएको जनाएको छ तर हिम वर्षा र आँधीबेहरीका कारण आइतवार राहत वितरण तथा उद्धार कार्य जटिल हुनसक्ने बताएको छ । अनुमानित एक हजार पहिरोमध्ये केहीले सडकलाई पुरेको वा भत्काएका कारण त्यहाँ सहायताका लागि पठाइएका यातायातका साधनहरू पनि बाटोमा नै अलपत्र बनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका