जोडिनुहोस
  • होमपेज
  • महाकालीमा व्यावसायिक जलयात्रा

महाकालीमा व्यावसायिक जलयात्रा

काठमाडौं । महाकाली नदीमा व्यावसायिकरुपमा जलयात्रा (र्याफ्टिङ) सुरु गरिएको छ । नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमा विश्व पानी दिवसका अवसरमा शुक्रबारदेखि र्याफ्टिङ सञ्चालन गरिएको हो ।

भीमदत्त नगरपालिका, परशुराम नगरपालिका र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) को संयुक्त आयोजनामा र्याफ्टिङ गरिएको हो । उक्त कार्यक्रममा अक्सफाम, निड्स, रुडुक नेपाललगायत गैरसरकारी संस्थाको सहकार्य रहेको छ ।

परशुरामदेखि कञ्चनपुरको खल्ला मसेट्टीसम्मको लगभग तीन घण्टाको जलयात्रामा परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीलगायतको टोली सहभागी थियो ।

त्यस्तै कञ्चनपुरको खल्ला मसेट्टीमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भीमदत्तका नगरप्रमुख पदम बोगटीलगायत नाराका अध्यक्ष शिव अधिकारी, पर्यटन व्यवसायीलगायत करिब तीन सय जनाले र्याफ्टिङ गरेका थिए ।

उक्त कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री शाहले महाकाली र्याफ्टिङलाई दिगो बनाउन लागिपर्ने उल्लेख गर्दै यसले सुदूरपश्चिमको पर्यटन विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार तथा यस क्षेत्रमा राष्ट्रिय र अन्तरराष्ट्रिय लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार लागिपर्ने बताए ।

नाराका अध्यक्ष अधिकारीले र्याफ्टिङ सञ्चालन भएसँगै स्थानीयलाई तालिम दिई रोजगार सृजना गर्न सहयोग गर्ने बताए । उनले भने, ‘महाकालीमा विगतमा जल यात्रा सुरु भए पनि चलेको थिएन । अब यहाँ व्यावसायिक रुपमा जलयात्रालाई निरन्तरता दिन्छौँ ।’ अध्यक्ष अधिकारीले महाकालीमा सञ्चालित जलयात्राले पर्यटन विकासका साथै दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका