जोडिनुहोस
  • होमपेज
  • बिजुली आयात सम्झौताको म्याद सकिँदै, सम्झौता नवीकरणमा भारत सकारात्मक

बिजुली आयात सम्झौताको म्याद सकिँदै, सम्झौता नवीकरणमा भारत सकारात्मक

नेपालले भारतसँग भएको विद्युत् आयातसम्बन्धी सम्झौताको म्याद सकिदैछ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार मार्च महिनाको अन्तिम दिन अर्थात् आइतवार यसको म्याद सकिँदै छ ।

नेपालले भारतसँग पाँच वर्षका लागि सम्झौता गरेर विद्युत आयात गरिरहेको घोषले बताए । ‘तर, यो सम्झौता पनि एक एक वर्षमा नवीकरण हुनुपर्छ,’ उनले भने ।

ऊर्जा मन्त्रालयका प्रवक्ता सिंहले पनि म्यादभित्रै सम्झौता नवीकरणका हुने अपेक्षा रहेको बताए । नेपालका तर्फबाट यस सम्बन्धी दस्तावेज पहिल्यै पठाइसकिएको पनि सिंहले बताए ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले भारतका ऊर्जासचिव पंकज अग्रवाललाई फोन गरी विद्युत् आयातसम्बन्धी सम्झौता चाँडै नवीकरण गरिदिन अनुरोध गरेका छन् ।

दुई सचिवबीच मंगलवार भएको वार्ता सकारात्मक भएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बताए । नेपालले भारतसँग भएको विद्युत् आयातसम्बन्धी सम्झौताअन्तर्गत रहेर प्रतिस्पर्धी बजारबाट बिजुली आयात गरिरहेको छ । खासगरी हिउँदा र सुख्खा बेलामा भारतबाट करिब ४० प्रतिशत विद्युत आयात गरी प्राधिकरणले आपूर्ति गर्दै आएको छ ।

हाल नेपालमा करिब १५ सय मेगावाट विद्युत् आपूर्ति भइरहेकोमा त्यसको करिब ४६ प्रतिशत भारतमा आयात हुने गरेको नेपाल विद्युत् प्राधिकरणको मंगलवारको तथ्यांक छ ।

नेपालले भारतको इनर्जी एक्सचेञ्ज लिमिटेडसँगको सम्झौताअनुसार त्यहाँको खुलाबजारमा ऊर्जा किनबेच गर्दै आएको छ । नेपालमा आयात हुने अधिकांश ऊर्जा भारतको इनर्जी एक्सचेञ्ज मार्केटमार्फत नै हुने गर्छ ।

भारतमा पनि यस सम्बन्धी फाइल तयार भएर बसेको र अनुमतिको निर्णय मात्रै हुन बाँकी रहेको जानकारी आफूले प्राप्त गरेको प्राधिकरण स्रोतले जनाएको छ ।

भारतमा निर्वाचन आउँदै गरेकाले त्यससम्बन्धी काममा व्यस्त हुनुपर्दा सम्झौता नवीकरणको स्वीकृतिमा ढिलाइ भएको जानकारी भारतीय सचिवले दिएको प्रवक्ता सिंहले जानकारी दिए । ‘नेपालसँगको मात्रै होइन, बंगलादेशसँगको सम्झौता नवीकरणमा पनि ढिलाइ भएको जानकारी उहाँहरुले दिनुभएको छ, तर यसमा चाँडै निष्कर्ष निस्कने पनि बताउनुभएको छ,’ प्रवक्ता सिंहले भने ।

विद्युत् आपूर्ति कम हुँदा नेपाल विद्युत् प्राधिकरणले अहिले पनि औद्योगिक क्षेत्रमा दैनिक ८–१० घन्टा लोडसेडिङ गरिरहेको छ । भारतसँगको विद्युत् आयात सम्झौता नवीकरण नभएको खण्डमा सम्पूर्ण मुलुक लोडसेडिङमा जानसक्ने डर पैदा भएको छ ।

बर्खाको बेला नेपालमा विद्युत् उत्पादन मागभन्दा धेरै भए पनि हिउँदमा भने माग पूरा गर्न भारतबाट आयात गर्नुको विकल्प छैन ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले नेपालमा विद्युतको पिक माग १८ सय ८५ मेगावाट छ । तर, हाल मुलुकको उत्पादन र आयातसमेत गरी जम्मा १४ सय ८३ मेवागाट विद्युत मात्रै आपूर्ति भइरहेको प्राधिकरणको तथ्यांक छ । त्यसमध्ये ६ सय ८१ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ ।

नेपालले भारतीय एक्सचेञ्ज बजारका अतिरिक्त बिहार र उत्तर प्रदेश सरकारसँग छुट्टै सम्झौता गरेर पनि विद्युत आयात गर्छ । एक्सचेञ्ज बजारमा आयात हुने विद्युत्को दर हरेक दिन परिवर्तन हुन्छ । तर, छुट्टै सम्झौतामार्फत आयात हुने विद्युतको दर भने स्थिर हुन्छ ।

नेपालले १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्रतियुनिट ६ रुपैयाँ १८ पैसा भारुमा विद्युत् आयात गरिरहेको छ भने ३३ केभीको प्रसारण लाइनबाट ६.६५ भारुमा विद्युत आयात गरिरहेको छ । तर, सानो प्रसारण लाइनबाट थोरै मात्रै विद्युत आयात गर्न सकिने हुँदा सीमावर्ती सहरहरुमा मात्रै त्यसको आपूर्ति गर्न सकिने प्राधिकरण स्रोत बताउँछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका