जोडिनुहोस
  • होमपेज
  • समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी

सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ । मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको । २० वटा सहकारी संस्थामध्ये १५ वटाले ४३ हजार ९ जना बचतकर्ताको १७ अर्ब २८ करोड ७४ लाख ८९ हजार रुपैयाँ ठगेको भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा उजुरी परेको छ ।

प्रहरीले अनुसन्धान गरिरहेको र पीडितले उजुरी दिन क्रम बढिरहेकाले ठगीको रकम बढ्न सक्ने देखिएको छ । नेपाल प्रहरीको सीआईबीका अनुसार सहकारी सञ्चालकले बचतकर्ताको रकमले सुपरमार्ट खोल्ने, घर जग्गा किन्ने, सञ्चारमाध्यम चलाउने, चिठ्ठा खेलाउने, घर बनाएर भाडामा लगाउने लगायतका गतिविधि गरेको पाइएको छ ।

यस्तै, सहकारीका सदस्य नै नभएका व्यक्तिलाई भरपर्दो धितोबिनै ऋण लगानी गर्दा पनि समस्या भएको देखिएको छ । सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेपछि त्यसको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाउने गरेको छ ।

गृहमन्त्री रवि लामिछानेले सहकारीको नाममा रहेको र त्यसका सञ्चलका नाममा रहेको सम्पत्ति बेचेरै भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाउनुभएको छ । तर लामिछानेले नै सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको भन्दै उजुरी परेको छ । गृहमन्त्री लामिछानेले आरोपको खण्डन गर्दै आउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका