जोडिनुहोस
  • होमपेज
  • बारा २ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनको चुनावी प्रचारप्रसार तीव्र

बारा २ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनको चुनावी प्रचारप्रसार तीव्र

बारा– बारा क्षेत्र नम्बर-२ मा आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा मतदाता आकर्षित गर्न उम्मेदवारसँगै पार्टीहरूले आफ्ना गतिविधि बढाएका छन् । टोल भेला, घरदैलो, क्षेत्रीय भेलासँगै उमेदवारहरू खेतखेतमा पुगेर मत माग्ने क्रम बढेको छ । दलहरूले निर्वाचनलाई पार्टीको प्रतिष्ठाको विषय बनाएको बारा क्षेत्र नं.२ अन्तर्गतको करैयामाई निवासी पूर्वजनप्रतिनिधि रामएकवाल चौधरीको भनाइ छ  । 

उनका अनुसार जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र आम जनता पार्टीले क्षेत्र नं.२ मा चुनावी प्रचारलाई तीव्र पार्दै लगेका छन । यस पटकको चुनावमा दलहरूले आफ्नो प्रतिष्ठाको विषय बनाएको देखिन्छ । जनता समाजवादी पार्टीले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।

यसअघि गत मङ्सिरमा सम्पन्न निर्वाचनमा सोही पार्टीका रामसहायप्रसाद यादवले नेकपा एमालेको सहयोगमा यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका थिए । उनी उपराष्ट्रपति बनेपछि यहाँ उपचुनाव हुन लागेको हो । यसअघि जसपाल नै जितेकाले यसपटक जसपाकै उम्मेदवार यादवले सहजै चुनाव जित्ने अनुमान गरिएको छ । यादव सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् । 

यस क्षेत्रमा अर्को बलियो शक्ति मानिएको कांग्रेसले पनि उनलाई समर्थन गरेको छ । यस दृष्टिकोणबाट हेर्दा यादवको जित सुनिश्चित रहेको दाबी गरिएका छन् । एमालेले पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई मैदानमा उतारेको छ । एमाले पोलिटब्युरो सदस्य एवं मधेश प्रदेश सहइन्चार्ज पौडेलको यस क्षेत्रमा आफ्नै खालको क्रेज छ । 

२०४८ र २०५६ मा एमाले जितेको क्षेत्र भएकाले एमाले यहाँ बलियो नै मानिन्छ । पौडेललाई चुनावी अभियानलाई ऊर्जा दिन गएको २२ गते एमाले अध्यक्ष केपी शर्मा ओली बारा आएका थिए । ओलीको आगमनपछि यहाँको माहोल एमालेमय बन्दै गएको महागढीमाई नगरपालिका २ का सर्वजित् पटेल दाबी गर्छन् । 

त्यसैगरी बारा क्षेत्र नम्बर ३ की सांसद ज्वालकुमारी साह, क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली र एमाले नेता रघुवीर महासेठ लगायतका संघीय सांसदहरू पौडेल जिताउ अभियानमा यतिबेला सक्रिय बनेका छन् । 

यसैगरी नेकपा माओवादीका पूर्वनेता शिवचन्द्र कुशवाह हाल जनमत पार्टीका उम्मेदवार छन् । उनी पनि यस क्षेत्रका प्रभावशाली व्यक्तिका रुपमा परिचित छन् । गत मंसिरको निर्वाचनमा यस क्षेत्रमा २५४ मते रामसहायप्रसाद यादवसँग कुशवाहा पराजित भएका थिए । उनी यसपटक मंसिरको हारको बदला लिन चाहन्छन् । उनलाई कुनै हाललमा जिताउन जनमत पार्टीका अध्यक्ष सिके राउतसमेत क्षेत्रमै खट्दै आएका छन् । 

गत निर्वाचनमा स्वतन्त्र उमेदवार बनेर पराजित अरुण ज्ञवाली यसपटक  प्रभु साहको आम जनता पार्टीबाट उम्मेदवार बनेका छन् । उनको अभियानलाई स्वयंं प्रभु साहले अगुवाई गरिरहेका छन् । यस्तै राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एकको बदला ३ भन्दै चुनावी माहोल बनाउँदै आएका छन् । रास्वपाले पूर्वडिआईजी रमेश खरेललाई उम्मेदवार बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका