जोडिनुहोस
  • होमपेज
  • सडक र गाउँवस्तीमै जंगली जनावर आउन थाले मानिसलाई समेत खतरा बढ्यो

सडक र गाउँवस्तीमै जंगली जनावर आउन थाले मानिसलाई समेत खतरा बढ्यो

म्याग्दी  : गतसाताको मंगलवार साँझ बेनी–बागलुङ सडकमा गुडिरहेको मोटरसाइकलमा ठोक्किएर एउटा  वयस्क चितुवा मर्‍यो।

गत माघमा पनि सोही सडक खण्डको खबरा क्षेत्रमा बागलुङबाट मोटर साइकलमा बेनी आउँदै गरेका हरि घिमिरेलाई चितुवाले झण्डै झम्टेको थियो। डरका कारण मोटर साइकललाई सन्तुलनमा लिन नसक्दा घिमिरे लडेर घाइते भए। उता बेनी नगरपालिका ३ को तोराखेतमा चितुवाले गत फागुनमा चार वटा बाख्रा मार्‍यो।

म्याग्दीमा विगत दुई वर्ष यता जंगली जनावरको आतंक वढ्दै गएपछि पशुचौपायाँलाई मात्रै होइन मानिसलाई समेत खतरा उत्पन्न भएको छ।

वन्यजन्तुले खेतीबाली र बाख्रा खान थाले पछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेका छन् भने सडक छेउछाउमा समेत चितुवा देखिन थालेपछि दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ।

जंगल नजिकका गाउँमा चितुवा, बँदेल, मृग, भालुलगायत जनावरले दुःख दिने क्रम बढेको हो । पछिल्लो सयम चितुवाले खोरबाटै बाख्रा लगेपछि व्यावसायिक बाख्रापालन गर्दै आएका कृषकले मार खेप्नुपरेको छ ।

त्यस्तै बँदेलले रातारात आलु खेती नष्ट गर्ने क्रम बढेको हो । हुलका हुल आउने बँदेलले एक रातमा नै ठूलो क्षेत्रको आलु खेती बर्बाद गरेको मालिका गाउँपालिका ५ का जगबहादुर बूढाले बताए। ‘बाँदर र बँदेलले खेती वाली नष्ट गर्ने क्रम पुरानै भए पनि यो पटक धेरै क्षति पुर्याइरहेको छ उनले भने अझ चितुवाले बाख्रासमेत मार्ने क्रम बढ्दा धेरै कृषकले नोक्सानी व्यहोर्नुपरेको छ ।

बेनी नगरपालिका ३ लहरेनीका सन्तबहादुर चर्मकारले गाउँमा यो वर्ष सुरु भएपछि मात्र तीनवटा बाख्रा,भैसिको एउटा पाडो र कुखरा जंगली जनावरले खाइदिएको बताए। राति कति बेला खोरमै आएर लैजान्छ पत्तो नै हुँदैन उनले भने। यो गाउँका हरेकजसो घरका बाख्रा चितुवाले मारेको छ ।

‘जंगल क्षेत्रमा आहारा कम पाएकोले पनि हुन सक्छ जंगली जनावरको बिगबिगी बढेको छ’, डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले भने। म्याग्दीमा जंगल आसपासका क्षेत्रमा वस्ती विस्तार हुँदा चितुवाको वासस्थान सुरक्षित नहुनु,चितुवाको आहार प्रजातिमा उल्लेखनीय कमी आउनु,चितुवाको प्राकृतिक आनिवानीमा परिवर्तन जस्ता कारणहरुले चितुवा आक्रामक बन्दै गएका रानाभाटले जानकारी दिए।

प्रमुख रानाभाटले बनजंगलमा लागेको डढेलोका कारण समेत अहिले वासस्थान खलबलिएको अवस्थामा मानव र चितुवाको जम्काभेट हुनसक्ने बताए। म्याग्दीमा चितुवाको संख्या बढेकाले आहाराको खोजीमा चितुवा मानव वस्ती र सडक छेउछाउमा देखिन थालेको पाइएको स्थानीयले बताएका छन्।

ग्रामीण क्षेत्रमा लगाइएको हिउँदे र बर्खे बाली जंगली जनावरहरुबाट  जोगाउन स्थानीय रातभर जाग्राम बस्न थालेका छन्। जंगली जनावर मार्न नपाइने र धपाउनसमेत नसकिने भए पछि कृषकलाई सास्ती भएको कृषकहरु बताउँछन्।

आलु, गहुँ, मकैजस्ता बालीहरू जंगली जनावरले नोक्सानी गर्दा ग्रामीण क्षेत्रका किसानको खानेकुरा जोहो गर्न नै कठिन हुने गरेको छ । चितुवा, भालुजस्ता वन्यजन्तुले गर्दा एक्लैदुक्लै हिँड्नै कठिन हुने गरेको खबराका राजाराम शर्मा सापकोटाले बताए। स्थानीयले वन्यजन्तु नियन्त्रणका लागि सरकारको साथ खोजेका छन्।

जंगली जनावरले अन्न बाली, तरकारी र फलफूल पशुचौपायाँ मात्र होइन, मानव वस्तीमा पसेर घरगोठमा समेत क्षति पुर्‍याउन थालेको स्थानीयले बताएका छन्। पहिरो र जंगली जनावरकै कारण बसाइँ सर्नेसम्मको अवस्था आएको तोराखेतका ६२ वर्षीय डिल सापकोटाले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका