जोडिनुहोस
  • होमपेज
  • पशुपतिनाथको ढोका बिहान ३ बजेदेखि नै खुला, चार ठाउँबाट लाइनको व्यवस्था

पशुपतिनाथको ढोका बिहान ३ बजेदेखि नै खुला, चार ठाउँबाट लाइनको व्यवस्था

काठमाडौं । तीजमा दर्शनार्थीको सुविधाका लागि पशुपतिनाथ मन्दिरको ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ । दर्शनार्थीलाई चार ठाउँबाट लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी पहिलो लामको व्यवस्था गरिएको छ ।

यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिकोमध्ये क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ । दोस्रो लाइन मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको छ ।

तेस्रो लाइन गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल बज्रघरअघिको भागमा राखिनेछ । चौथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ । कोषले सोमबार बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ ।

यसैबीच पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवम् भिडियो खिचेमा मोबाइल जफत गरी नगद जरिवाना समेत गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्बिर एवम् भिडियो खिच्न मनाही गरिँदै आएको छ ।

पछिल्लो समय सबैका हातमा मोबाइल हुने र मोबाइल चलाए जसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिबानासहित कारबाही गर्न लागिएको कोषले जनाएको हो । सनातनकालदेखि तस्बिर खिच्न मनाही गरिएको ठाउँको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो । कोषले आज बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न पनि रोक लगाएको छ ।

सुरक्षा व्यवस्थापनमा २ हजार ९६६ जना प्रहरी खटिने

तिजको सुरक्षा व्यवस्थापनमा २ हजार ९६६ जना प्रहरी खटिने भएका छन् । यसमा महिला प्रहरीको सङ्ख्या ६ सय ३० हुनेछ । नेपाल प्रहरीका अनुसार प्रति सिफ्टमा १ हजार ४८३ जना प्रहरी खटिने भएका हुन् ।

पशुपतिनाथको मन्दिर परिसरमा तिज पर्व सम्पन्न नभएसम्म कमान्ड पोष्टको स्थापना गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठले यसको कमान्ड गर्नेछन् ।

त्यस्तै पैदल गस्ती, मोबाइल गस्ती, कर्डन, सादा पोसाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सिसिटिभी, वाकथ्रु गेट, ड्रोनबाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका माध्यमद्वारा तिज पर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिने छ ।

प्रहरीले चाडपर्व मनाउँदा आफू सुरक्षित रही अरूलाई समेत चाडपर्व मनाउने वातावरण बनाउन आग्रह गरेको छ । तिज पर्वमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खबर गर्न आग्रहसमेत गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका