जोडिनुहोस
  • होमपेज
  • आइतबार बिहानैदेखि देशभर साधारणतया बदली रहने

आइतबार बिहानैदेखि देशभर साधारणतया बदली रहने

दुई दिन खुलेको मौसम आज रातिबाटै पुनः बदली हुने भएको छ । भोलि बिहानैदेखि देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा, बागमती प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

उनले पश्चिमी वायुको प्रभावले अहिले सुदूरपश्चिमबाट बादल प्रवेश गरिसकेको जानकारी गराउँदै अब रातिबाटै बदली हुने बताए । यसअघि शुक्रबारअघि बदली रहेको मौसम आज शनिबार खुलेको थियो । उनका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

आइतबार राति देशभर आंशिकदेखि साधारणतया बदली कायम नै रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सोमबारबाट भने मौसम क्रमशः खुल्ने लामिछानेले बताए । सोमबार कोशी प्रदेशलगायत देशको बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान साथै बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका