जोडिनुहोस
  • होमपेज
  • ‘गठबन्धन नगर्ने’ बुँदा सच्याउन गगनलाई देउवाको दबाव

‘गठबन्धन नगर्ने’ बुँदा सच्याउन गगनलाई देउवाको दबाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा छलफलमा जुटेका छन् । चुनावअघि गठबन्धन गर्न नहुने थापाको प्रस्तावमा देउवा सहमत नभएपछि मिलनबिन्दु खोज्न दुई नेता छलफलमा जुटेका हुन् । उनीहरुबीच बिहानैदेखि सभापति देउवाको निवास बुढानिलकण्ठमा छलफल जारी छ ।

आजदेखि सुरु हुने महासमिति बैठकका लागि तयार महामन्त्री थापाले तयार पारेको सांगठनिक प्रतिवेदनमा चुनावअघि गठबन्धन नगर्ने, काग्रेस कार्यकर्ता र शुभेच्छुकले रुख चिह्नबाहेक अन्यत्र भोट हाल्न नपर्नेलगायत प्रस्ताव गरेका छन् । तर, देउवाले ती बुँदामा असहमति जनाएका छन् ।

कांग्रेससहितको गठबन्धनको सरकार चलिरहेको अहिलेको अवस्थामा यस्ता अडान राख्न नहुने पक्षमा देउवा छन् महामन्त्री थापा पनि आफ्नो प्रस्तावमा अडिग देखिन्छन् ।

यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावमा पनि देउवाको असन्तुष्टि छ । उनले शर्माले प्रस्तावमा उल्लेख गरेको कोशी प्रकरणको प्रसंग हटाउनुपर्ने बताएका छन् । यद्यपि आजको छलफलमा महामन्त्री शर्मा भने सहभागी छैनन् ।

महामन्त्रीद्वयका प्रस्तावका कतिपय कुरामा आपत्ति जनाएका देउवाले उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको नीति प्रस्तावबारे भने केही भनेका छैनन् ।

देउवाले आइतबार बिहान पनि थापा र शर्मालाई आफ्नो निवास बूढानिलकण्ठमा बोलाएर प्रतिवेदन सच्याउन भनेका थिए । तर, त्यसक्रममा थापाले आफ्नो प्रतिवेदन महासमितिले नै अस्वीकार गरे आफूलाई स्वीकार्य हुने तर पहिल्यै आफू प्रतिवेदन सच्चाउन तयार नभएको जवाफ दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका