जोडिनुहोस
  • होमपेज
  • भारतीय राजदूतावासमा अन्तर्राष्ट्रिय नारी दिवसको उत्सव : मेनुका र रत्नकुमारी सम्मानित

भारतीय राजदूतावासमा अन्तर्राष्ट्रिय नारी दिवसको उत्सव : मेनुका र रत्नकुमारी सम्मानित

काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासले माइती नेपालसँगको सहकार्यमा माइती नेपालको प्राङ्गणमा बिहीबार अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । ‘महिलामा लगानी : प्रगतिलाई गति’ र  ‘समावेशीकरणलाई प्रेरणा’ भन्ने नाराका साथ महिलाहरूको योगदानको सम्मान एवम् कदर गर्न उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा नेपालकै पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य प्रमुख अतिथिको रूपमा उपस्थित थिइन् । कार्यक्रममा माइती नेपालकी संस्थापक अनुराधा कोइरालासँगै भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव पनि सहभागी थिए ।

कार्यक्रममा बोल्दै नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नारी दिवसको महत्वमाथि प्रकाश पार्दै माइती नेपालले नेपाली महिलाको हित र समृद्धिका लागि गरेको अथक प्रयासको प्रशंसा गरे । नियोग उप–प्रमुख श्रीवास्तवले सन् २०१७ मा भारत सरकारले कोइरालालाई प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित गरेको उल्लेख गर्दै उनले यस क्षेत्रमा पुर्‍याएको प्रयासलाई भारत सरकारले पनि कदर गरेको बताए ।

WhatsApp Image 2024-03-07 at 16.29.40_8dfc4f18

त्यस्तै अष्टलक्ष्मी शाक्यले भारत र नेपालबिच रहेको विशिष्ट सम्बन्धको महत्वमाथि प्रकाश पार्दै नेपालमा महिला सशक्तीकरणका लागि बृहत्तर सामूहिक प्रयासको आवश्यकता रहेको बताइन् । अनुराधा कोइरालाले माइती नेपालले गर्दै आएको पहल एवम् बृहत् कार्यक्रम बारे जानकारी गराएकी थिइन् । उनले राजदूतावासको निरन्तर साथ र सहयोगका लागि धन्यवाद समेत व्यक्त गरेकी छन् ।

कार्यक्रममा मेनुका पौडेल र रत्नकुमारी सुनुवारलाई उनीहरूको प्रेरणादायी उपलब्धिका लागि सम्मान गरिएको थियो । काठमाडौँकी पौडेलले आफ्नो गायन प्रतिभाको माध्यमबाट नेपाल र भारतमा र पछिल्लो समय इन्डियन आइडल (२०२३) मा प्रशंसा बटुल्न सफल भएकी थिइन् ।

त्यस्तै सुनुवारले ८० वर्षको उमेरमा गत वर्ष कक्षा १२ उत्तीर्ण गरेपछि अध्ययनमा उमेरले कुनै बाधा नपार्ने रहेछ भन्ने देखाउँदै चर्चा कमाएकी थिइन् ।  सो अवसरमा भारतीय राजदूतावासले माइती नेपालका विद्यार्थीहरूलाई उपहार स्वरूप पुस्तक प्रदान गरेको थियो ।

WhatsApp Image 2024-03-07 at 16.29.39_2838fe7c

भारतीय राजदूतावास, काठमाडौँस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आयोजना गरेको कार्यक्रममा काठमाडौँका महिला वाद्यवादकहरूले सांगीतिक प्रस्तुति र माइती नेपालका छात्राहरूले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । मेनुका पौडेलले पनि सुमधुर गीतहरू गाएर दर्शकलाई मोहित बनाएकी थिइन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सामाजिक संघ संस्थाका प्रतिनिधि, माइती नेपालका छात्राहरू लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका