जोडिनुहोस
  • होमपेज
  • आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन

आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन

पर्वत – आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । अस्पतालमा सातवटा भेन्टिलेटर रहेका छन् । भेन्टिलेटरको आवश्यकता परे बिरामीले प्रयोग गर्न पाउने अवस्था छैन् । कोभिड–१९ का सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म प्रयोगमा आउन सकेका छैनन् ।

गण्डकी प्रदेश सरकारले दिएको रु एक करोड ६९ लाखको लगानीमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो । यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट समेत भेन्टिलेटर उपलब्ध भएका थिए । तीन वर्षअघि अस्पतालको पुरानो भवनमा आइसीयू निर्माण गरिएको थियो । तीन चिकित्सक र तीन नर्सले भेन्टिलेटर सञ्चालनका लागि पोखराबाट तालिम लिएका थिए । तर हालसम्म उनीहरूले सीप प्रयोगमा आउन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिणा अधिकारीले बताइन् ।

पन्ध्र शय्याबाट ५० शय्यामा स्तरोन्नति गरिएको पर्वत अस्पताल पुरानोबाट नयाँ संरचनामा सारिएको छ । सुविधासम्पन्न भवन बनेपछि पुराना भवनका सामग्री र सेवा नयाँ भवनमा सारिएको हो । त्यो क्रममा जडान भएका भेन्टिलेटर पनि निकालेर नयाँ भवनमा थन्क्याइएका छन् । आवश्यक दक्ष जनशक्ति नभएकै कारण आइसीयूमा प्रयोग हुने सबै सामग्री थन्क्याएर राखिएको डा अधिकारीले सुनाइन् ।

सातवटा भेन्टिलेटर चलाउन २८ देखि ३० जनासम्म जनशक्ति आवश्यक हुने भए पनि एक जना पनि नहुँदा समस्या भएको उनले जनाइन् । अहिले २४ नर्सका भरमा अस्पताल चलाउनुपरेको डा अधिकारीले बताइन् । “ यसलाई ५० शय्या क्षमताको अस्पतालका रूपमा सरकारले स्वीकृति दिनुपर्छ”, उनले भनिन्।

कोभिड–१९ को सङ्क्रमण चरम अवस्थामा रहेका बेला जिल्लावासीले भेन्टिलेटर खोज्दै पोखरा पुग्न नपरोस् भनेर सहयोगीले सहयोग गरेका थिए । झन्डै रु पाँच करोडभन्दा बढी मूल्यका ती सामग्री थन्क्याएर राखिएका भए पनि बेला–बेलामा परीक्षण र मर्मत भने गर्ने गरिएको उनले बताइन् । स्वास्थ्य सेवा विभागले छात्रवृत्ति करारका चिकित्सक पठाए वा प्रदेशले विज्ञापन नै खुलाएर जनशक्ति पठाएको अवस्थामा भेन्टिलेटर सञ्चालन गर्न सकिने डा अधिकारी बताउँछिन् ।

अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले यसबारेमा प्रदेश सरकारमा पटक–पटक कुरा गरे पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो पोखे । राज्यको लगानी सही ठाउँमा नहुँदा महँगा सामग्री प्रयोगविहीन भएको र जनताले त्यो सुविधा पनि पाउन नसकेको उनको भनाइ छ । अस्पतालमा रहेका स्रोतसाधनलाई प्रयोगमा ल्याउन सक्ने जनशक्ति सरकारले दिए यो क्षेत्रका बासिन्दा पोखरा, काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य हुने गिरी बताउँछन् । पर्वत हुँदै पोखरा जानुपर्ने भएकाले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका नागरिकलाई सेवा दिने गरी यसलाई ट्रमा सेन्टरका रूपमा विकास गर्न सक्ने हो भने यो क्षेत्रका बासिन्दाले गुणस्तरीय स्वास्थ्य पाउने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका