जोडिनुहोस
  • होमपेज
  • अयोध्याको राम मन्दिरमा प्राण प्रतिष्ठा शुरु (लाइभ)

अयोध्याको राम मन्दिरमा प्राण प्रतिष्ठा शुरु (लाइभ)

लाइभ हेर्नुहोस्:

आज भारतको अयोध्यामा नवनिर्मित राममन्दिरमा प्राण प्रतिष्ठा हुँदैछ । राम मन्दिरमा हुन लागेको प्राण प्रतिष्ठा भारत र नेपालको लागी मात्र नभई यतिबेला विश्वकै लागी चासोको बिषय बनेको छ ।

भगवान श्रीरामको जन्म भएकै स्थानमा बनाइएको राम मन्दिरमा श्रीरामसहित माता जानकीको समेत मुर्ति प्रतिस्थापन हुदैँछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय समय अनुसार १२ बजेर २९ मिनेट ०८ सेकेण्डमा मन्दिरको गर्भगृहमा पूजा गर्ने छन् ।

यो भव्य समारोहका लागी सिंगो अयोध्या सजाइएको छ । मन्दिरमा हुने प्राणप्रतिष्ठा समारोहका लागी ५० देशबाट विशिष्ट व्यक्तिहरु बोलाइएको छ । यस्तै लाखौं हिन्दु धर्मालम्बीहरु अयोध्या पुगेका छन् ।

यस्तो छ, पुर्ननिर्मित राम मन्दिरको ईतिवृतान्तः
लामो विवादपछि अयोध्यामा राम मन्दिरको निर्माण सुरु भएको हो । यो विवादको शुरुवात सन् १५२८ मा भएको थियो । त्यतिबेला अयोध्यामा हिन्दूहरूले भगवान् श्रीरामको जन्मस्थान रहेको भनेको स्थानमा मस्जिद निर्माण गरिएको थियो । त्यस्तै सन् १८५३ मा सो स्थानमा पहिलो पटक धार्मिक हिंसा भयो ।

सन् १८५९ मा औपनिवेशकालीन ब्रिटिश शासकहरूद्वारा तारबार निर्माण गरी भित्री स्थलमा मुस्लिमलाई प्रार्थना अनि बाहिरी भेगमा हिन्दूलाई पूजा गर्न स्वीकृति दिने गरी व्यवस्थापन गरिएको थियो । तर सन् १९४९ मा मस्जिदभित्र भगवान् श्रीरामका मूर्तिहरू देखा परे । जसका कारण मुस्लिमद्वारा हिन्दूहरूले ती मूर्ति राखिदिएको आशङ्काका विरोध भयो । पछि दुवै पक्ष अदालत गए । त्यसपछि सरकारले उक्त स्थान विवादित भन्दै ढोका बन्द गरिदियो ।

सन् १९८४ मा आइपुग्दा विश्व हिन्दू परिषद्को अगुवाइमा हिन्दूहरूले भगवान् श्रीरामको जन्मस्थानलाई मुक्त गर्न भन्दै समिति गठन गरे । भारतीय जनता पार्टीका तत्कालीन नेता लालकृष्ण आडवाणीको नेतृत्व त्यसबेला अभियान नै चलाइएको थियो । सन् १९८६ मा जिल्ला न्यायाधीशद्वारा विवादित मस्जिदको ढोका खोलेर हिन्दूहरूलाई पूजा गर्न अनुमति प्रदान गर्दा मुस्लिमहरूद्वारा विरोधका निम्ति बाबरी मस्जिद एक्शन कमिटी गठन भएको थियो ।

सन् १९८९ मा विश्व हिन्दू परिषद्को अभियानले विवादित मस्जिदसँगैको भूमिमा राम मन्दिरको जग निर्माण गरे । यस्तै सन् १९९० मा परिषद्का कार्यकर्ताद्वारा मस्जिदमा क्षति गरे । जसका कारण बढ्दो विवादका क्रममा वार्ताद्वारा मुद्धा हल गर्ने तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरको प्रयास पनि विफल बनेको थियो ।

सन् १९९१ मा उत्तर प्रदेशमा भारतीय जनता पार्टीको सरकार गठन भयो । त्यसपछि सन् १९९२ मा विश्व हिन्दू परिषद्, शिवसेना तथा भारतीय जनता पार्टीका समर्थकहरूद्वारा मस्जिद ध्वस्त पारे । लगत्तै देशभरि फैलिएको हिन्दू–मुस्लिम दङ्गामा दुई हजारभन्दा धेरै मानिसको मृत्यु भयो । सन् १९९८ मा प्रधानमन्त्री अटल बिहारी वाजपेयीको नेतृत्वमा भारतीय जनता पार्टीको गठबन्धन सरकार निर्माण भएपछि सन् २००२ फेब्रुअरीमा मार्च १५ सम्मको समयसीमा दिएर मन्दिर निर्माण थाल्ने विश्व हिन्दू परिषद्ले चेतावनी दियो । त्यसबेला सयौँ स्वयंसेवक अयोध्यामा भेला भएका थिए । तर अयोध्याबाट फर्किरहेका हिन्दू अभियानकर्मी चढेको रेलमा गोधरामा आगजनी हुँदा कम्तीमा ५८ जनाको मृत्यु भएको थियो ।

यस्तै सन् २००२ मार्चमा रेलमा भएको आक्रमणपछि पश्चिमी राज्य गुजरातमा भएका दङ्गामा अधिकांश मुस्लिमसहित दुई हजार मानिसको मृत्यु भयो । सन् २००२ अप्रिलमा सो धार्मिक स्थल कसको स्वामित्वमा छ भन्ने जान्न ३ उच्च अदालतका न्यायाधीशहरूद्वारा सुनुवाइको थालनी भयो । सन् २००३ जनवरीमा अदालतको आदेशमा पुरातत्वविद्हरूद्वारा विवादित स्थलमा भगवान् रामको मन्दिर रहे नरहेकोबारे सर्वेक्षणको थालनी भयो । र सन् २००३ अगस्टमा पुरातात्विक सर्वेक्षणमा त्यहाँ मस्जिद मुनि मन्दिर रहेको प्रमाण भेटिएको जानकारी गराइयो । जसको मुस्लिमहरूद्वारा विरोध भयो ।

हिन्दू अभियानकर्मी रामचन्द्रदास परमहंसको अन्तिम संस्कारका बेला बोल्दै अटल बिहारी वाजपेयीद्वारा उनको सपना साकार पार्दै अयोध्यामा राम मन्दिर निर्माण गर्ने वाचा गरे । तर त्यहिबेला सन् २००३ सेप्टेम्बरमा बाबरी मस्जिद ध्वस्त पार्न उक्साएको आरोपमा ७ हिन्दू नेताविरुद्ध मुद्दा चलाउन एक अदालतको आदेश दियो । तर त्यतिखेरका उपप्रधानमन्त्री आडवाणीविरुद्ध कुनै अभियोग लगाइएन ।

सन् २००४ अक्टोबरमा आडवाणीले आफ्नो पार्टीभित्र अयोध्यामा मन्दिर बनाउने अविचलित सङ्कल्प रहेको र त्यहाँ मन्दिर निर्माण अवश्यम्भावी रहेको बताएका थिए । त्यसको ६ बर्षपछि सन् २०१० मा इलाहावाद उच्च अदालतद्वारा विवादित जमिनलाई बराबर तीन भागमा बाँडेर मुस्लिम समुदाय, हिन्दू समुदाय र हिन्दू सन्न्यासीहरूको एउटा सम्प्रदाय निर्मोही अखडालाई दिनुपर्ने आदेश दियो । तर सन् २०११ मा सर्वोच्च अदालतद्वारा उच्च अदालतको फैसला स्थगन गरियो । तर जब सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको पूर्ण बहुमत सहित सत्तारोहण भयो त्यसपछि राम मन्दिर निर्माणको पहल फेरी शुरु भयो ।

सन् २०१९ मा मोदीको नेतृत्वमा भारतीय जनता पार्टी पुनः विजयी भएपछि राम मन्दिर निर्माणको पहल शसक्त रुपले अघि बढाइयो । त्यहि बेला सन् २०१९ नोभेम्बरमा भारतको सर्वोच्च अदालतद्वारा विवादित स्थलमा राम मन्दिर निर्माण गर्न बाटो खुला गरिदियो । त्यसैको आधारमा टेकेर सन् २०२० अगस्ट ५ मा विवादित स्थलमा भव्य राम मन्दिर निर्माणको आधारशीला राख्ने साइत तय भयो ।

राम मन्दिरको निर्माण कार्य सन् २०२० को मार्चदेखि हुँदै आएको छ । अयोध्यामा ७० एकड जमिनमा बन्ने राम मन्दिरमा पाँच मण्डप र बीचमा गर्भगृह रहने गरी मन्दिर निर्माण भएको छ । मन्दिरको भुइँ तलामा गर्भगृह रहनेछ । राम मन्दिरको ४६ वटा ढोका लगाइने छ । जसमध्ये १८ वटा सुनले लेपित हुनेछन् ।

अहिले सिंगो भारत राममय बनेको छ । तर आउँदो आम निर्वाचनलाई मध्यनजर गर्दै भारतीय प्रधानमन्त्री मोदीले धार्मिक राजनीतिको निम्ति अयोध्यालाई प्रयोग गर्न खोजिरहेको आरोप भारतका विपक्षी दलहरूले लगाइरहेका छन् । कतिपय शङ्कराचार्य र महन्तहरूसमेत अयोध्यामा आज भइरहेको प्राणप्रतिष्ठा प्रति असन्तुष्ट छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका