जोडिनुहोस
  • होमपेज
  • सुत्केरीलाई डोलीमा अस्पताल लैजानुपर्ने बाध्यता

सुत्केरीलाई डोलीमा अस्पताल लैजानुपर्ने बाध्यता

काठमाडौं । भौगोलिक हिसाबले तनहुँलाई सुगम जिल्ला मानिन्छ । तनहुँका अधिकांश ठाउँमा मोटरबाटोको पहुँच छ । तर तनहुँमै एउटा यस्तो गाउँ पनि छ जहाँ अहिलेसम्म मोटरबाटो पुगेको छैन ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आमडाँडा, खस्राङ, दुवा बेलडाँडा मोटर गुड्ने सडकको पहुँचबाट टाढै छ । पृथ्वीराजमार्गको आँबुखैरेनीसँगै जोडिएको यो वडाका तीन गाउँमा मोटर गुड्ने बाटो नपुग्दा सुत्केरीलाई डोलीमा अस्पतालसम्म लैजानुपर्ने बाध्यता छ ।

सुत्केरी वा विरामी हुँदा डोली वा डोकोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको आँबुखैरेनी गाउँपालिका–४ का वडा सदस्य प्रेमबहादुर गुरुङ बताए । यी गाउँबाट सडकको पहुँचसम्म पुग्न एकरदुई घण्टा पैदल हिँड्नुपर्छ ।

“गाउँसम्म जाने मोटरबाटो छैन, सुत्केरी हुँदा र बिरामी पर्दा यहाँका स्थानीयलाई सास्ती छ,” गुरुङले भने , “डोली बोकेर लैजानुको विकल्प छैन ।” वडाकै अन्य गाउँमा मोटरबाटोको पहुँच पुगेपनि यी गाउँ वर्षौदेखि मोटरबाटोको पहुँचबाट टाढा रहेको गुरुङको भनाइ छ ।

सुत्केरी हुँदा हिँडेर भरतपुर महानगरपालिकाको पाँचकिलोसम्म आउनुपर्छ । त्रिशूली नदीको पार गरेपछि मात्रै मुग्लिन–नारायणगढ खण्डको पाँचकिलो पुगिन्छ । त्यहाँ पुगेपछि मात्रै सवारी साधनको प्रयोग गर्न सकिने गुरुङले बताए ।

अरु बेला पनि यहाँका स्थानीय यही पुल तरेर पैदल नै गाउँ आउँजाउ जाने गर्दछन् । “बजारमा किनमेल गर्न जान परेपनि समस्या उहीँ हो, पाँचकिलो झरेर मुग्लिन, चितवन वा आँबुखैरेनी जानुपर्छ”, गुरुङले ।भने , “यो गाउँका बारेमा सबैलाई जानकारी भए पनि अहिलेसम्म प्राथमिकतामा परेको छैन ।”

सोमबार आमडाँडा निवासी सुत्केरी हीरा गुरुङलाई डोलीमा राखेर आँबुखैरेनी अस्पतालसम्म पुर्याइएको थियो । उनलाई डोलीमा हालेर दुई घण्टा पैदल हिँडेपछि पाँचकिलोमा एम्बुलेन्स बोलाएर आँबुखैरेनी अस्पताल लगिएको थियो । “पहिले भरतपुर लैजानुपथ्र्यो, अहिले गाउँपालिकाले आफैले आँबुखैरेनी अस्पताल सञ्चालन गरेपछि भने त्यही लैजाने गरेका छौ” उनले भने ।

सुत्केरी भएपछि पुनः उनलाई त्यसरी नै बोकेर घर पुर्याइएको थियो । “घर फर्किने बेलामा पनि आँबुखैरेनी अस्पतालबाट पाँचकिलोसम्म एम्बुलेन्समा ल्यायौँ, त्यहाँबाट झोलुङ्गे पुल तरेपछि पुनः डोलीमा राखेर दुई घण्टा हिँडेर घर पुर्यायौं,” उनले भने ।

मोटरबाटोको पहुँच नपुगेको ती ठाउँमा मोटरबाटो पुर्याउनका लागि आवश्यक बजेट विनियोजनका लागि गाउँसभामा कुरा उठाएको गुरुङले बताए । “जनतालाई निकै सास्ती छ, जनताको आवाज गाउँसभासम्म पुर्याए पनि सुनुवाइ हुनसकेको छैन,” गुरुङले भने ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पुलजीपतर्फबाट उक्त गाउँमा मोटर चल्ने भए पनि बाटोको समस्याका कारण सवारी साधन नियमित नचल्दा दुःख हुने गरेको बताए । “त्यस भेगका सर्वसाधारणलाई पुलजीपतर्फ आउनभन्दा मुग्लिन नारायणगढखण्डको पाँचकिलो झर्न चाँडै हुन्छ, पुलजीपतर्फको बाटो अप्ठ्यारो भएकाले नियमित गाडी नचल्दा जनतालाई सास्ती भएको छ,” उनले भने ।

घुमाउने र मुग्लिनको बीचभागमा पक्की पुल नहुँदा सर्वसाधारणलाई सास्ती भएको चुमानले बताए। “त्यस भेगका जनतालाई पाँचकिलो झरेर मुग्लिन, नारायणगढ जान पायक पर्छ”, उनले भने , “पक्की पुल नभएकाले पनि डोलीमा बोकेर आउनुपर्ने बाध्यता हो ।”

उनका अनुसार त्यसभेगका सर्वसाधारण पुलजीप हुँदै आउनुभन्दा नारायणढ मुग्लिन सडकमा झर्न चाँडै हुन्छ । “उक्त ठाउँमा सडक निर्माणका लागि डिपिआर अनुसार रू एक अर्बको हाराहारीमा बजेट चाहिन्छ, गाउँपालिकाले मात्रै निर्माण गर्न सक्दैन,” उनले भने , “प्रदेश र सङ्घ सरकारको सहयोग बिना यो सम्भव पनि छैन ।”

चुमानले आफ्नै कार्यकालमा यो सडकमा गाडी चल्ने र कालोपत्र गराउने दाबी गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका